कोशीमा जीवन आचार्य मन्त्री दोहोरिएपछि माओवादी सांसदहरू असन्तुष्ट
कोशीमा जीवन आचार्यलाई दोहोर्याएर मन्त्री बनाउने माओवादी केन्द्रको निर्णयप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उदयपुरका सांसद नारायण बुर्जा मगरले आइतबार सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले पदबाट राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् ।
माओवादी नेताहरुका अनुसार आज बिहानसम्म पनि माओवादीबाट मन्त्री हुनेको नाममा बुर्जाको नाम सामेल थियो । तर, सपथ लिने बेलामा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ रहेका जीवन आचार्य र राजेन्द्र कार्कीको नाम परेपछि माओवादीमा असन्तुष्टि चुलिएको छ। उदयपुरका बुर्जा प्रदेश सभामा दोस्रोपटक निर्वाचित सांसद हुन्।
मुख्यमन्त्री उद्द्व थापाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्दा थपिएका र शुक्रबार नै मन्त्री भएका सबैलाई विना विभागीय मन्त्री बनाउदा आचार्य आर्थिक मामिला मन्त्री बनेका छन्।यसअघि उनी पर्यटन मन्त्री थिए ।
यसपालि प्रदेशमा दोहोर्याएर मन्त्री नबनाउने विषय माओवादी सांसदहरूले उठान गरेका थिए। सोही अनुसार यसअघि मन्त्री भएका दुर्गा चापागाइँ पछि हटेका थिए। तर, आचार्य पछि नहटेपछि माओवादीभित्र असन्तुष्टि उजागर हुन थालेको हो।
मन्त्रिपरिषद् विस्तारमा सत्ता गठबन्धनकै घटक एकीकृत समाजवादीले समेत असन्तुष्टि जनाएको छ। गठबन्धनमा छलफल नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राइले सरकारलाई विश्वासका मत दिनेनदिनेबारे समेत सोच्नुपर्ने बताए।