भारत सरकारको आर्थिक सहयोगमा दैलेख जिल्लामा ४ परियोजना – Nepalboli

भारत सरकारको आर्थिक सहयोगमा दैलेख जिल्लामा ४ परियोजना

   २१ असार २०८०, बिहीबार  

भारत सरकारको १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखमा तीन विद्यालय सहित चार परियोजना निर्माण सम्पन्न भएको छ । भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव श्री प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख श्री नमराज शाहीले संयुक्त रुपमा उक्त परियोजनाहरु हस्तानान्तरण गरेका छन ।
निर्माण गरिएका तीनवटा विद्यालय भवनहरु क्रमशः लालिकाँडास्थित श्री मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित श्री भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित श्री जगदीश माध्यमिक विद्यालय र रामपुरस्थित श्री नारायण क्याम्पसको क्याम्पस भवन नेपाल सरकारका सम्बन्धित स्थानीय निकायलाई औपचारिक रुपमा हस्तान्तरण गरिएका छन ।

हस्तानान्तरण कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष श्री गणेश बहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्रीमती मन्जु कुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख श्री लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो ।

यी परियोजनाहरु भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । विद्यालय र क्याम्पस निर्माण परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, दैलेखमार्फत भएको हो ।

सन् २००३ यता भारतले नेपालमा ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ जसमध्ये ४८० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

दैलेखका ४ वटा गरी कर्णाली प्रदेशमा १४ वटा परियोजना रहेका छन् । यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई ९४० वटा एम्बुलेन्स र १८४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । यी मध्ये दैलेख जिल्लालाई हालसम्म ६ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै