कोशी प्रदेशमा आज सरकारका लागी थापाले दाबी गर्ने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् ।
गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले निर्णय नदिएकाले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेका छन् । राप्रपाले तत्काल निर्णय नदिएका कारण सभामुखलाई पनि जोडेर सरकारमा दाबी पेश गर्ने कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।
गठबन्धन दलले आलोपालो मुख्यमन्त्रीका लागि पहिलो पालामा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ ।