भारतीय सहयोगमा निर्माण भएको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन – Nepalboli

भारतीय सहयोगमा निर्माण भएको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

   २० असार २०८०, बुधबार  

भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमा बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को बुधवार उद्घाटन गरिएको छ । बुढानीलकण्ठ मन्दिर परिसरमा निर्माण गरिएको धर्मशालाको बुधवार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्धघाटन गरेका हुन । उद्धघाटन कार्यक्रममा मन्दिरका मठाधिस स्वामी निगमानन्द, काग्रेस महामन्त्री गगन कुमार थापा र नेता तथा संसद प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा शिवराज पण्डित सहित बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकार र भारतीय राजदूतावासका पदाधिकारीहरु उद्घाटन समारोहमा उपस्थिति थियो ।

भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो । नवनिर्मित यस साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउनहुने हजारौं तीर्थयात्रीलाई सेवा दिनेछ ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै