अस्तव्यस्त त्रिवि शैक्षिक पात्रो
परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो ।
शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् । अहिले स्नातकमै दोस्रो वर्षकै नयाँ समूहका विद्यार्थी आइसकेका छन् । केही निजी क्याम्पसले पहिलो र दोस्रो दुवै समूहका विद्यार्थीलाई सँगसँगै राखेर पढाइरहेका छन् । त्रिविमा वार्षिक प्रणालीमा मात्रै होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक तहकै तथा स्नातकोत्तर तहमा परीक्षा र पढाइ नियमित छैन । शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसकेकै कारण मुलुकको उच्च शिक्षाको ८० प्रतिशत विद्यार्थी भार बोकिरहेको त्रिविले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ ।
समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीले थप अध्ययनको योजना बनाउन सकेका छैनन् । लोक सेवा आयोग वा अन्य सरकारी रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित छन् ।
कोरोना महामाहारी कारण शैक्षिक पात्रो कार्यान्वयनमा समस्या आएको त्रिवीका पदाधिकारीहरु बताउछन ।