एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
एक वर्षपछि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन् । बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले असार २७ गते बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए।
कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो।
विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो।
कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत गरेको थिएन।