प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि प्रतिनिधीसभा बैठक बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
राष्ट्रियसभा बैठक आज सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बोलाइएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आआफ्नो धारणा राखिरहेका छन् ।