नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । कूटनीतिक स्रोतका अनुसार लू यही जुलाई महिनाभित्र नेपाल भ्रमणमा आउने निश्चित भए पनि अहिलेसम्म मिति तय भएको छैन । स्रोतका अनुसार असार २९ गते लु काठमाडौ आउने तयारी भईरहेको छ । यद्यपी यसको औपचारिक मिती घोषणा भएको छैन ।
लू अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।
त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।
नेपालमा एमसीसी परियोजना पारित गराउन महत्वपूर्ण भूमिका खेलेका मानिएका लू सो समयमा नेपाल आएपछि एसपीपी परियोजनामा पनि नेपालले पूनर्विचार गर्नसक्ने आशंका गरिएको थियो । यद्यपि, उनले त्यस विषयमा खासै छलफल गरेका थिएनन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका लूले दुई दिनको नेपाल बसाइमा उनले नेपाल-अमेरिका व्यापार सम्बन्ध र सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।
नेपालको संसदबाट एमसीसी पारित हुनुपूर्व १ मंसिर २०७८ मा आउँदा उनले समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफल गरेका थिए ।
त्यसपछि एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।
संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो । एमसीसी अनुमोदन भएको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा देश दुर्घटना हुनबाट जोगिएको बताएका थिए ।