न्यायालयमा दोहोरो विरोध, ललितपुरमा आज नेपाल बारको विरोध सभा

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता समीर लामिछानेको विवादमा एक अर्कालाई आरोपित गर्दै अदालत कर्मचारी र नेपाल बार एसोसिएसनले आ–आफ्ना विरोधका कार्यक्रम सुरु गरेका छन् ।
तामाङलाई कुटपिट गरिएको भन्दै कर्मचारी युनियनले आइतबार देशभरिका अदालतमा दिउँसो १ः३० बजेसम्म कामकाज ठप्प पारेका छन् । यस्तै बार एसोसिएसनले सोमबार देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका अन्य मुद्दामा बहस नगर्ने निर्णय गरेको छ ।
दुवै संस्थाले वक्तव्य जारी गर्दै घटनाप्रति एकअर्कालाई आरोपित गरेका छन् । कर्मचारी युनियनले अधिवक्ता लामिछानेमाथि घटनाको जाहेर दर्ता भई अनुसन्धान प्रक्रियामा रहेको अवस्थामा प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । कर्मचारीका चार सङ्गठनले वक्तव्य जारी गर्दै अनुसन्धानमा हस्तक्षेप नगर्न माग गरेका छन् ।
यस्तै बार एसोसिएसनले अधिवक्ता लामिछानेको रिहाइ माग गरेको छ । घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सार्वजनिकको माग पनि बारले गरेको छ । लामिछानेका तर्फबाट पेस भएको जाहेरी दर्ता गर्न र घटनाको सत्यतथ्य छानबिनको माग पनि बारले अघि सारेको छ ।
ललितपुर जिल्ला अदालत अगाडि आज बारले बिहान ११ बजे विरोध सभा आयोजना गर्न लागेको छ । कानुन व्यवसायी माथि झुठ्ठा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएशन सहित उपत्यकाका जिल्लाहरू काठनाडौं, ललितपुर, भक्तपुर, काभ्रे, विशेष अदालत बार एकाइ र पाटन उच्च अदालत बार एकाइको संयुक्त आयोजनामा विरोध सभा गर्न लागिएको हो ।
कानुन व्यवसायीहरुले कर्मचारीमाथि कुटपिट भएको भनिएको समयको सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी पनि दर्ता गर्नुपर्ने, घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने, न्यायिक स्वच्छता कायम हुनुपर्ने लगायतका माग राखेका छन् ।