देशभर ११ प्रतिशत मात्र रोपाइँ – Nepalboli

देशभर ११ प्रतिशत मात्र रोपाइँ

   १५ असार २०८०, शुक्रबार  

मध्यअसार हुँदासम्म देशभर ११ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। असारलाई धान रोप्ने मुख्य महिनाका मानिए पनि हालसम्मको तथ्यांक सन्तोषजनक छैन। बिउ, सिंचाई र मनसुनका कारण गत वर्षको तुलनामा यस वर्ष आसर १५ सम्म धान रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ९६ हजार ३०६ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य लिइएकोमा हालसम्म एक लाख ६६ हजार ६२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

केन्द्रका अनुसार हालसम्म देशभरमा ११ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। केन्द्रका प्रमुख डा। रामकृष्ण श्रेष्ठका अनुसार सबैभन्दा बढी धान रोपाइँ कर्णाली र सूदूरपश्चिम प्रदेशमा भएको छ। जहाँ २३/२३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

मनसुन ढिला प्रवेश गर्नु र देशभर फैलन समय लाग्दा धान रोपाइँ ढिला भएको उहाँको भनाइ छ। प्रमुख श्रेष्ठले भन्नुभयो, “मनसुन ढिला नेपाल भित्रनु र देशभर फैलन समय लागेका यो वर्ष असारको मध्य हुँदासमेत रोपाइँ कम भएको छ।”

गतवर्ष असार मध्यसम्म २५ प्रतिशत धान रोपाइँ भएको थियो। यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार अहिलेसम्म कम मात्रामा रोपाइँ भए पनि असार मसान्तसम्म लगभग पुरै क्षेत्रमा सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘असार मध्यसम्म आइपुग्दा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। गतवर्ष यो प्रतिशत २५ थियो। मनसुन सबैतर्फ पुगेका कारण असार मसान्तसम्म देशका अधिकांश स्थानमा रोपाइँ सकिन्छ।”

यो वर्ष मनसुन देशभर फैलिन ढिला हुँदा धान रोप्न समस्या भएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता सञ्जेलले भन्नुभयो, “गतवर्ष मलको अभाव भएका कारण धान रोपाइँमा केही ढिला भएको थियो। तर यसपाली मलको समस्या छैन। सिंचाईको अभाव भएका कारण नै समयमा धान रोपाइँ नभएको हो।”

कृषि मन्त्रालयका अनुसार २०७९/८० को असार १० गतेसम्म दुई लाख ८७ हजार ४ सय ७० टन मल वितरण भएको छ। यही अवधिमा तीन लाख ५१ हजार टन मल आयात भएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै