भारी बर्षा संगै ३२ जिल्लामा बाढीको जोखिम
शुक्रबार देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘भारीदेखि धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ।
त्यसो त अहिले बिहान पनि सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हाल गण्डकी र लुम्बनी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो।
महाशाखाका अनुसार दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन्।
भारी बर्ष संगै ३२ जिल्ला भई बहने नदीमा बाढी आउने सम्भावना रहेकाले तिनले असर पार्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार आज रुपन्देही, कपिलवस्तु र पाल्पा भई बहने नदीमा बाढीको उच्च जोखिम छ।
यस्तै इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र स्याङजालगायत १७ भन्दा बढी जिल्ला भई बहने नदीमा बाढीको मध्यम जोखिम छ।
यस्तै बाढीको मध्यम जोखिम रहेका अन्य जिल्लामा तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान र दाङलगायत छन्।
उल्लिखित २० जिल्ला र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने सम्भावना देखिएकाले सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सल्लाह दिएको छ।
साथै सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, बाँकि र आसपास भई बहने केही ससाना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।