पोखरामा आज र भोली मुख्यमन्त्री भेला हुदै
प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न पोखरामा आज र भोली मुख्यमन्त्रीहरुको भेला हुँदैछ। भेलाका लागि कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्री पोखरा आइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
दोस्रो पटक हुन लागेको मुख्यमन्त्री भेलामा उपस्थित ६ वटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका विषयमा आ–आफ्ना अनुभव बाँड्नेछन्। सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्।
भेलाको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विहिबार प्रदेश सभामा पेश गरेको विश्वको मत संवन्धी प्रस्तावमा आज मतविभाजन हुने भएकाले आउन नपाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बाँकी ६ वटै प्रदेशका मुख्यमन्त्री र मुख्य सचिव पोखरा भेलामा उपस्थित हुने गण्डकी सरकारका प्रवक्ता एवं उर्जामन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।
यसअघि पहिलो पटक मुख्यमन्त्री भेला पनि पोखरामै भएको थियो। गण्डकीको पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ भदौ २१ गते पहिलो मुख्यमन्त्री भेला डाकेका थिए। उक्त भेलामा उपस्थित मुख्यमन्त्रीहरुले संविधान अनुसार अधिकार बाँडफाँडमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुदार बनेको भन्दै आलोचना गरेका थिए।