नक्कली शरणार्थी प्रकरणमा थप अर्का अभियुक्त काठमाडौंबाट पक्राउ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणका अर्का अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जना फरार अभियुक्तमध्ये २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालका अनुसार बूढानीलकण्ठ नगरपालिका १० का उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बुढाथोकीको बैंक खातामा नक्कली शरणार्थी प्रकरणका बिचौलियाले उठाएको रकम जम्मा गरेको भेटिएको छ। यसअघि यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना जेल चलान भइसकेका छन्।
१८ मध्ये टंक गुरुङ र लक्ष्मी महर्जन काठमाडौं अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन्। नक्कली शरणार्थी प्रकरणमा अभियुक्त रहेकामध्ये अझै ११ जना फरार रहेका छन्। फरार सूचीमा प्रतीक थापादेखि निरज राईसम्म छन्।