संखुवासभामा बाढीपहिरोले सत्र घरपरिवार विस्थापित, २० जना बेपत्ता – Nepalboli

संखुवासभामा बाढीपहिरोले सत्र घरपरिवार विस्थापित, २० जना बेपत्ता

   ६ असार २०८०, बुधबार  

संखुवासभामा बाढीपहिराका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन् । गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन् ।

पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

बाढी पहिराका कारण ११ घर पूर्ण क्षति भएको छ । भने छ घरमा आंशिक क्षति भएको प्रनाउ गोदारले बताए । बाढी–पहिराबाट विस्थापित छरछिमेकी र आफन्तको शरणमा बसेका छन् । बाढी–पहिराका कारण चैनपुर नगरपालिकामा आठ, पाँचखपन नगरपालिकामा चार, सभापोखरी गाउँपालिकामा चार र मकालु गाउँपालिकामा एक घरपरिवार विस्थापित भएको प्रनाउ गोदारले बताए ।

गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढीपहिराबाट बेपत्ता भएकाको खोजीकार्यमा वर्षाका कारण समस्या भएको छ । अहिले पनि त्यस क्षेत्रमा वर्षा भइरहेको छ ।

बाढीपहिराबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभाखोपरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् ।

बाढीपहिराका कारण जिल्लाका आठवटा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुईवटा पक्की पुल बगाएको छ भने एउटा पक्की पुलमा आंशिक क्षति पुगेको छ ।

चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढी भौतिक संरचना बगाउँदा करोडौं रुपैयाँको क्षति भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै