असार ५ समाजवादी मोर्चा गते घोषणा गर्ने चार दलको निर्णय – Nepalboli

असार ५ समाजवादी मोर्चा गते घोषणा गर्ने चार दलको निर्णय

   ३ असार २०८०, आईतवार  

सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका चार दल मिलेर यही असार ५ गते समाजवादी मोर्चा घोषणा गरिने भएको छ। आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलले मोर्चा घोषणाको मिति तय गरेको हो।

‘असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने तय भयो’, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले भने।

आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए।

समाजवादी मोर्चामा डा‍‍। बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसमेत ६ दल समेट्ने तयारी रहे पनि आजको छलफलमा भने बाबुराम र वामदेव सहभागी भएनन्।

तर यसअघि स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलको संयुक्त मोर्चा घोषणा गर्ने बताइएको छ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै