बाढीपहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा एकको मृत्यु, २६ बेपत्ता – Nepalboli

बाढीपहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा एकको मृत्यु, २६ बेपत्ता

   ३ असार २०८०, आईतवार  

सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा आएको बाढीपहिरोमा परी २६ जना बेपत्ता भएका छन् । तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूका अनुसार त्यति संख्यामा मानिस बेपत्ता भएको र करोडौको धनमाल क्षति भएको छ ।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

यस्तै पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । मेची राजमार्ग अवरुद्ध भएको छ । रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना बेपत्ता भएका छन् ।

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताप्लेजुङमा सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिइन् । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।

मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै