समाजबादी मोर्चा घोषणा वारे छलफलमा नेताहरु

माओवादी, नेकपा एस, जसपा सहितको ६ दलहरुको घोषणा हुने समाजबादी मोर्चा वारेमा आइतवार विहानै देखि नेताहरु वालुवाटारमा छलफल गरिरहेका छन । सकभर सोमवार नै घोषणाको तयारी गरिरहेको नेताहरु नसकेमा यो हप्ता भित्र जसरी पनि मोर्चा घोषणा गर्ने तयारीमा छन ।
स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलले मोर्चालाई ‘समाजवादी मोर्चा नेपाल’ नामाकरण समेत गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले दुईतीन दिनभित्र मोर्चा घोषणा हुने जानकारी दिए। उनी मोर्चा गठनको वार्तामा छन्।
मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा समेत दलहरु सहमत भएका छन । माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टी मोर्चा बनाउन तयार भइसकेका छन्।
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान नेपाललाई समेत मोर्चामा समेट्ने प्रयास भइरहेको छ। आइतवार बिहान देखि वालुवाटारमा चलीरहेको छलफलमा गौतमलाई पनि सहमतीमा ल्याउने प्रयास चलीरहेको छ ।
अहिले केन्द्रमा मात्र रहनेगरी १५ बुँदे कार्यविधि र नीतिगत प्रतिबद्धता बनाइएको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताए।
‘पाँच दल सहमत भइसकेका छौँ,’ उनले भने, मस्यौदा अध्यनका लागि दिइएको थियो।’
आइतवार नेताहरु अध्यन पछि उक्त मस्यौदा माथी समेत छलफल गरिरहेका छन ।
संसदमा रहेकामध्ये उपेन्द्र यादव नेतृत्वको जसपाका १२ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका १० सांसद छन्। सबै दल समेटिँदा मोर्चामा ५४ सांसद हुनेछन् र यो संसदको तेस्रो ठूलो शक्ति हुनेछ।