समाजवादी मोर्चा घोषणाको अन्तिम गृहकार्य – Nepalboli

समाजवादी मोर्चा घोषणाको अन्तिम गृहकार्य

   १ असार २०८०, शुक्रबार  

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधार टुंगो लागेको छ । संगठन र संद्धान्तिक आधार त भए पछि एक दुुई दिन मै यी पार्टीहरु समाजवादी मोर्चा घोषणा गर्ने गरि अन्तिम गृहकार्यमा जुटिरहेका छन ।

सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । ‘मोर्चामा सहभागी दलको नेताहरुले आलोपालो नेतृत्व गर्ने टुंगिएको छ, तर यसलाई अन्तिम रुप दिन बाँकी छ’, जसपाका नेता राजेन्द्र श्रेष्ठ भन्छन् ।

श्रेष्ठका अनुसार, तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति जुटेको ब्रिफिङ पार्टी नेताहरुलाई दिएका छन् । ‘पार्टी अध्यक्षले मोर्चाको मोडालिटीबारे जानकारी दिनुभएको छ, अब चाँडै मोर्चा घोषणा हुन्छ’, प्रवक्ता जगनाथ खतिवडाले भने ।

आलोपालो नेतृत्व र तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको ब्रिफिङ शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष नेपालले गरेका थिए । अध्यक्ष नेपालले दिएको जानकारी अनुसार, मोर्चाको केन्द्रीय सचिवालय बन्नेछ । यही मोडेल तल्ला कमिटीहरुमा पनि लागू हुनेछ ।

‘सबै पार्टीको अस्तित्व कायमै रहन्छ, पार्टीगत कार्यक्रम हुन्छ । तर साझा उद्देश्यमा एकठाउँ हुन्छौं’ जसपाका नेता श्रेष्ठ भन्छन्, ‘अरु देशहरुमा पनि प्रगतिशील र क्रान्तिकारी शक्तिहरुले एकीकृत मोर्चा बनाउँछन्, हामीले त्यस्तै बनाउने हो ।’
श्रेष्ठका अनुसार, मोर्चाको सैद्धान्तिक उद्देश्य पनि टुंगिएको छ । ‘हाम्रो उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हुनेछ’, श्रेष्ठ भन्छन् ।

गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना साझा संकल्प हुने श्रेष्ठ बताउँछन् ।

‘मौलिक विशेषताको समाजवाद स्थापना गर्न त्यही अनुसारको अर्थ–राजनीतिक कार्यक्रम आवश्यक हुन्छ, त्यसैले प्रगतिशील र क्रान्तिकारी शक्तिहरुको साझा मोर्चा आवश्यक परेको हो’, श्रेष्ठ भन्छन् ।

यो मोर्चामा नेत्रविक्रम चन्द विप्लव र वामदेव गौतम पनि सहभागी हुने तयारी छ । ‘विप्लव आउने कुरा भइसकेको छ, बामदेवसँग कुरा चलिरहेको छ’, एक नेताले भने । यदि यी नेता थपिएमा यो मोर्चा पाँच दलीय हुनेछ ।

यसबाहेक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि मोर्चामै जोडिने छन।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै