समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा ३ पार्टी, शुक्रवार नै घोषणाको गृहकार्य – Nepalboli

समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा ३ पार्टी, शुक्रवार नै घोषणाको गृहकार्य

   ३२ जेष्ठ २०८०, बिहीबार  

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समाजवादी मोर्चा घोषणा गर्ने तयारी गरेका छन् । ३ दल मोर्चा घोषणा गरेर जाने कुरामा तयार भएका छन् भने अन्य २ दलसँग समेत छलफल जारी रहेको नेताहरुले बताएका छन्।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार शुक्रबार नै घोषणा हुने सम्भावना बलियो छ। यही विषयलाई लिएर शुक्रबार बिहान ८ बजे एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ। बैठकले उक्त विषयमा थप स्पष्ट पार्ने उनले बताएका छन्।

उनका अनुसार उक्त मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समेत सहभागी गराउनेगरी छलफल भइरहेको छ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा घोषणा गर्ने तयारी अन्तिमतिर पुगेको बताएका थिए। उनले नेकपा ब्युँताउने बाटोमा आफूहरु सक्रिय रहेको समेत उल्लेख गरेका थिए।

प्रतिनिधि सभामा माओवादी केन्द्रसँग ३० सिट रहेको छ। यसैगरी जसपासँग १२ र नेकपा एकीकृत समाजवादीसँग १० सीट छ। माओवादी केन्द्रमै गणना हुने २ सिट भने डा भट्टराई नेतृत्वको नेसपाको रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै