प्रस्तावित प्रधानन्यायाधीश कार्कीको शुक्रबार प्रश्नोत्तर सहितको सुनवाई हुने

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि शुक्रबारमात्रै प्रश्नोत्तर हुने भएको छ। समितिमा आजदेखि सुरू भएको सुनुवाईमा कार्कीले आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका छन्। उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका छन्। गोला प्रथा लागु भएपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका छन्।
उनीमाथिको सुनुवाई भोलि फेरि ८ बजेदेखि सुरु हुनेछ। भोलि समितिमा रहेका १५ सदस्यहरूले कार्कीसँग प्रश्नोत्तर गर्नेछन्।
समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन् । एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य छन्।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्। समितिले कार्कीको नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
कार्की हाल कायममुकायम प्रधानन्यायाधीश छन्। उनी साउन १९ देखि अवकाशमा जाँदैछन्।