कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, बजेट अध्यादेशबाट ल्याईने – Nepalboli

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, बजेट अध्यादेशबाट ल्याईने

   ३१ जेष्ठ २०८०, बुधबार  

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम आज ल्याउँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको थियो । अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन् । प्रदेश सरकार अल्पमतमा परिसकेको र १ असारमा बजेट ल्याउनैपर्ने भएकाले अध्यादेशको विकल्प नभएको एमालेका प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राई र प्रतिपक्षी दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले भने अल्पमतमा परिसकेको प्रदेश सरकारले संवैधानिक व्यवस्थाविपरीत अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने दाबी गरे ।

संविधानको धारा २०७ मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभासमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । त्यसैले आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थालाई छलेर अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने कांग्रेस/माओवादीको दाबी छ ।

संविधानको धारा २०२ को उपधारा (१) अनुसार प्रदेशसभा चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।

मुख्यमन्त्री कार्कीले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत असार १ गते बजेट ल्याए पनि १५ असारसम्ममा नै प्रदेशसभाबाट अस्वीकृत हुने अवस्था छ । उनले १५ असारभित्र प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेर विश्वासको मतका लागि प्रस्ताव राख्नैपर्ने बाध्यात्मक अवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै