असार १ देखि भदौ मसान्त सम्म सडक खन्न प्रतिबन्ध – Nepalboli

असार १ देखि भदौ मसान्त सम्म सडक खन्न प्रतिबन्ध

   २६ जेष्ठ २०८०, शुक्रबार  

सडक विभागले असार १ गतेदेखि भदौ मसान्त सम्म सडकहरू खन्न प्रतिबन्ध लगाएको छ । वर्षायाममा ढल, बिजुली, धारा, टेलिफोन आदी प्रयोजनका लागि बाटो खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्नका लागि प्रतिबन्ध लगाइएको सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयका सुपरिटेण्डि इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार वर्षा याममा सडक खन्दा हिलाम्मे हुने र तत्काल पिच गर्न पनि समस्या हुने भएकाले वर्षयाममा सडक खन्न बन्द गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायाममा नयाँ सडक खन्दा सडक चाँडै बिग्रने र हिलाम्मे हुने भएकाले यात्रा गर्न झन् कष्टकर हुने गर्दछ । पिच गर्न पनि समस्या हुने भएकाले वर्षा याममा सडक खन्न प्रतिबन्ध लगाएका हौँ ।” वर्षादमा सडक खनिँदा क्षति हुने र निर्माण गर्दा गुणस्तर नहुने विभागको भनाई छ ।

ग्रामीण भेगमा नयाँ सडक खन्दा पहिरो जाने समस्या भएकाले पनि वर्षाको समयमा बर्सेनि सडक खन्नका लागि निषेध गरिँदै आइएको उहाँले बताउनुभयो । जुनसुकै प्रयोजनका लागि बाटो खन्ने काम गर्न पूर्ण रूपमा रोक लगाइएको उहाँ बताउनुहुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै