नेपाल-भारत बीचको सम्बन्ध थप बलियो बनेको प्रधानमन्त्री दाहालको दाबी – Nepalboli

नेपाल-भारत बीचको सम्बन्ध थप बलियो बनेको प्रधानमन्त्री दाहालको दाबी

   २०८० जेष्ठ २४, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो यसपटकको भारत भ्रमण विगतको भन्दा फरक अनुभूति गरेको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा भारत भ्रमणको सम्बन्धमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले दुई देशका बीचको सम्बन्धलाई थप बलियो बनाउँदै भविष्यका लागि प्रस्ट मार्गचित्र तय गरेको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध र हितका विषयमा खुलस्त रुपमा कुराकानी भएको र विश्वासको वातावरण बनेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतले आगामी १० वर्षभित्र नेपालमा उत्पादित १० हजार मेघावाट विद्युत् आयात गर्ने प्रक्रिया अघि बढेको बताए । ‘हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग महत्त्वपूर्ण भेटवार्ता भयो । सो अवसरमा द्विदेशबीचका व्यापार पारवाहन, ऊर्जा प्रवर्द्धन, दीर्घकालीन ऊर्जा व्यापार र भारतीय भूमि हुँदै बंगलादेशसम्म विद्युत् निर्यात गर्नेलगायत विषयहरूमा संवाद सुरू भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् नेपालबाट आयात गर्ने बताएका छन् ।

ऊर्जा व्यापार सम्झौता सबै हिसाबबाट सम्पन्न भएको छ । अब औपचारिकता दिनमात्र बाँकी छ । यसबाहेक ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित थप १२ सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत् निर्यातका लागि मैले गम्भीर रुपले ध्यानाकर्षण गराएको छु ।’

उनले सम्झौतामा परराष्ट्र सचिवस्तरबाट हस्ताक्षर भइसकेको भन्दै निकट भविष्यमै त्यसको औपचारिक प्रक्रिया पूरा गरिने बताए । उनले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याबारे पनि गम्भीर छलफल भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै