काग्रेस रुपानान्तरण भए देशमा पनि परिर्वतन हुन्छ – काग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश रुपानान्तरणका लागी नेपाली काग्रेसमा रुपानान्तरण हुनु अपरिहार्य रहेको बताएका छन । थापाले नेपाली काग्रेस रुपानान्तरण नभए सम्म देश पनि रुपानान्तरण नहुने भन्दै त्यसका लागी अगाडी वढनु पर्नेमा जोड दिएका छन । उनले पार्टी सभापति शेरबहादुर देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरुले सहेर बस्न नसक्ने चेतावनी दिएका छन् ।
पार्टीक सभापतिले महत्त्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरुसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै उनले नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न नसक्ने बताए ।
प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री थापाले गणेशमान र बीपी कोइरालाले बनाएको पार्टीलाई बदलेर छाड्ने बताए । कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको भन्दै उनले भने, ‘कांग्रेस बदल्ने गुटलाई बलियो बनाउँदै जाऔं, नबदल्ने गुटलाई कमजोर बनाउँदै जाऔं । कुनै विषयको निर्णय गर्दा आम जनताले के भन्छन् भन्ने सोच्नुपर्नेमा पार्टीले गर्ने अहिलेको निर्णय प्रधानमन्त्री हुन्छु कि हुन्न भन्नेमा केन्द्रित छ । हामी सानासाना कुरामा लोभिएका छौं ।’
कांग्रेस सहभागी भएको सरकारले केही दिनअघि गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्व र जनचासोका विषयमा निर्णय गर्दा पनि पार्टीमा छलफल नभएको भन्दै महामन्त्री थापाले आक्रोश पोखेका थिए । रेशम चौधरीलाई दिएको आममाफी, नागरिकता प्रमाणीकरण, प्रदेश सरकारमा कांग्रेसको सहभागिता, प्रदेश मन्त्रालय फुटाउने, सांसद विकास कोषलगायतका कयौं विषयहरुमा उनले असन्तुष्टि जनाएका हुन् । ती सबै निर्णय पार्टी सभापति शेरबहादुर देउवाले एक्लै गरेको भन्दै महामन्त्री थापाले यस्ता सूचना आफूले सञ्चारकर्मीका समाचार सुनेर थाहा पाएको बताए ।
‘यस्तो परिपाटी डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । सभापति हो उहाँले कुनै न कुनै दिन गर्नुहुन्छ भन्ने लाग्यो । पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरे विभाग बन्छ नत्र बन्दैन । अस्ति उहाँलाई विभाग गठन गर्न मन लाग्यो गर्दिनुभयो । अहिले उहाँलाई गर्न मन लागेको छैन गर्नुभएन । कलम खल्तीमा राख्नुभएको छ निकालेर हस्तक्षर गरे विभाग बन्छ, नत्र बन्दैन,’ उनले भने ।
पार्टीमा गलत भएको कुरा बोल्न डराउने गरेको भन्दै उनले अब आफूले यस्ता कुरा नसहने बताएका थिए । पार्टीको आधारभूत मान्यतासँग बाझिने गरेर गरेका निर्णय पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था आएको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए । र यसरी नेतृत्वले गरेको गलत निर्णयको भारी बोकिनै रहने हो भने थेग्न नसकिने उनको भनाइ थियो ।