राष्ट्रपति कार्यालयमा रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव
टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी सरकारले गरेको छ। राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव बुधबार राष्ट्रपति कार्यालय आइपुगेको जानकारी दिए।
‘हिजो साढे २ बजेतिर गृहको प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको हो। फाइल निकै ठूलो छ। आज विदा भएकाले त्यसमा केही भएन, भोलिदेखि अध्ययन हुन्छ,’ कुँवरले भने। राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेका छन्।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले यो विषयमा राष्ट्रपतिले महान्यायाधीवक्तासहित कानुनविद्हरूसँग परामर्श गरिने बताए।
राष्ट्रपति कार्यालयबाट यो प्रस्ताव फेरि गृह मन्त्रालयमा आउनेछ। गृहले आममाफी दिनेहरूको सूची मन्त्रिपरिषद्मा पठाउने छ। मन्त्रिपरिषद्ले पारित गरेको सूचीअनुसार राष्ट्रपतिले आममाफी दिने छन्।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा चौधरी जन्मकैदको सजाय पाएका छन । उनी ०७४ का फागुन देखि कारागारमा छन ।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो।
रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।