एमाले अध्यक्ष ओलीको सम्पर्कमा फरार टोपबहादुर रायमाझी – Nepalboli

एमाले अध्यक्ष ओलीको सम्पर्कमा फरार टोपबहादुर रायमाझी

   २८ बैशाख २०८०, बिहीबार  

फरार सूचीमा रहेका नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहाुदर रायमाझीलाई प्रहरीले खोजिरहेको छ । उनी कहाँ छन् भन्नेबारे आधिकारिक जानकारी कसैसँग छैन । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले टोपबहादुरले ‘बुधबार प्रहरीमा हाजिर हुन्छु’ भनेर आफूलाई भनेको बताएका छन् । बिहीबार सुरू भएको एमाले केन्द्रीय समिति बैठकमा ओलीले यसबारे बताएका हुन् । “हिजो उहाँ (टोपबहादुर रायमाझी) प्रहरीकहाँ हाजिर हुन आउनुहुन्छ भन्ने मैले सुनेको थिएँ । त्यो कुराचाहिँ पूरा भएन । सरकारी स्रोतबाटै मैले हिजै आज हिँड्दै हुनुहुन्छ भन्नेबारे बुझेको हुँ । तर, पछि किन हाजिर हुनुभएन थाहा भएन,” उनले भनेका छन् ।

आरोप लाग्दैमा दोषी नहुने उल्लेख गर्दै ओलीले टोपबहादुरलाई भने, “पाईंले आफूलाई प्रहरीसामु प्रस्तुत गर्नुस्, पार्टीको निर्देशन यही छ । आरोपबाट तर्किन खोजियो भने, उम्किन खोज्यो भने, भाग्न खोज्यो भने सन्देश पैदा हुन्छ। किन भाग्नुभयो भन्ने हुन्छ । त्यसकारण सच्चाइको सामना गर्नुपर्छ । दोषी भए कारबाही भोग्नुपर्छ, दोषी नभए त्यसबाट आत्तिनुपर्दैन, दोषमुक्त हुन सकिन्छ । हुनुपर्छ ।”

ओलीले प्रहरीकहाँ उपस्थित हुन निर्देशन दिएका छन् । रायमाझीले पार्टीको निर्णय पालना नगर्नेबारे आफूले नसोचेको उल्लेख गर्दै उनले भनेका छन्, “मैले के सोचेको थिइनँ भने टोपबहादुर बाहिर त्यसरी जानुहुन्छ । तर उहाँले पार्टीको निर्णय पालना गर्नुहुन्न भन्नेबारे सोचेको छैन ।”

यसअघि आफूलाई सिधै अदालतमा हाजिर हुने सन्देश पठाएको ओलीले बताए । “प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो । त्यसकारण अदालतमै उपस्थित हुने विचार गरेँ भनेर उहाँले भन्नुभयो भनेर मैले सुनेँ । त्यो पूरा भएन,” उनले भनेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने गिरोहमा मुछिएका टोपबहादुरलाई एमालेले निलम्बन गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै