नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित १२ जना पक्राउ
एमाले सचिवसहित ६ जना फरार
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा उच्च राजनीतिक व्यक्तिहरु पक्राउ पर्ने क्रम जारी रहेको छ। बुधबार मात्र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परे। केही दिन अघिसम्म आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएका उनी आफू गृहमन्त्री हुँदा सचिव रहेका टेकनारायण पाण्डेले बयानमा क्रममा आफूले पाएको रकम मन्त्री खाणलाई पनि बुझाएको बताएपछि पक्राउ परेका हुन् । उनलाई प्रहरीले निवासबाटै पक्राउ गर्दै बयान लिइरहेको छ। उनलाई आजै जिल्ला अदालत काठमाडौले ३ दिन थुनामा राख्न आदेश दिएको छ ।
यो प्रकरणमा हालसम्म खाणसहित ११ जना पक्राउ परेका छन्। सुरुमा बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ परेका थिए। उनीहरुको बयानपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए। राईको बयानपछि थप राजनीतिक व्यक्तिहरुको ‘नेक्सस’ खुलेको थियो।
राईकै बयानका आधारमा प्रहरीले बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परे। उनीसँगै प्रहरीले नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझी बाबु छोरामाथि पक्राउ पुर्जी जारी गर्यो। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि आफैं प्रहरी कार्यालय उपस्थित हुने सूचना दिएका रायमाझी फरार भए।
त्यसअघि प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको थियो। छोरालाई पक्राउ गरेपछि आफू उम्कन नसक्ने देखेका रायमाझी एकाएक आफैं आउने भनेर मोबाइल अफ गर्दै फरार भएका हुन्। उनको खोजीका लागि प्रहरीले ७७ जिल्लामा सर्कुलर गरेको छ।
उक्त प्रकरणमा खाणका पीए नरेन्द्र केसी, रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
हालसम्म कोको पक्राउ परे
पूर्व गृहमन्त्री बालकृष्ण खाड
खाणका पीए नरेन्द्र केसी
सचिव टेकनारायण पाण्डे
सुरक्षाविज्ञ इन्द्रजित राई
सन्दीप रायमाझी (टोपबहादुरका छोरा)
केशव दुलाल
सानु भण्डारी
टंक गुरुङ
सन्देश शर्मा पोखरेल
सागर थुलुङ
रामशरण केसी
गोविन्द चौधरी
फरार
टोपबहादुर रायमाझी
प्रतीक थापा
निरज राई
केशव तुलाधर
हरिभक्त महर्जन
लक्ष्मी महर्जन