दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख
भारतको नयांदिल्लीमा उपचार गराउदै आएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।
राष्ट्रपति पौडेलको परिवारका सदस्यले पनि ‘उहाँको स्वास्थ्य हिजोको भन्दा आज राम्रो’ भनेका छन् । राष्ट्रपति पौडेलको बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारमा छन् । एम्सको भीआईपी आईसीयूमा राखेर उनको उपाचार भइरहेको छ । उनलाई दिइएको ‘अक्सिजन सपोर्ट’ बिहीबारबाट हटाइएको छ । उनको स्वास्थ्यस्थिति हेरेर बिहीबार सम्भवतः आईसीयूबाट बाहिर प्राइभेट वार्डमा सार्ने सम्भावना छ ।
उनको छातीमा संक्रमण देखिएको छ । काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेका बेला परिवारजन तथा चिकित्सकहरुसँगको सरसल्लाहपछि सरकारले उनलाई ‘बेटर’ उपचारका लागि दिल्ली पठाउने निर्णय गरेको थियो ।
यसैबीच, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले उनको शीघ्र स्वास्थ्यलाभको सन्देश अस्पतालमा पठाएकी छन् । मुर्मूका तर्फबाट राष्ट्रपति कार्यालयका कर्मचारीले पुष्पगुच्छा र सन्देश अस्पतालमा लिएर आएका थिए । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्यलाभको सन्देश पठाइसकेका छन् । विदेश मन्त्रालयका अधिकारीहरु नियमितरुपमा एम्स अस्पतालमा आउजाउ गरिरहेका छन् ।
बिहीबार नर्थ डेस्क प्रमुख अनुराग श्रीवास्तव अस्पताल पुगेर परिवारजनलाई भेटेका छन् । यसअघि विदेश सचिव विनयमोहन क्वात्रा पनि अस्पताल पुगेको पारिवारजनले जनाएको छ ।