काठमाडौमा महानगरमा छ हजार सहकारी पिडितद्धारा साढेँ चार अर्बको माग दाबी – Nepalboli

काठमाडौमा महानगरमा छ हजार सहकारी पिडितद्धारा साढेँ चार अर्बको माग दाबी

   २०८१ माघ ९, बुधबार  

काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा छ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरूबाट चार अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपियाँ बचत फिर्ता गराइदिन मागदाबीसहित निवेदन दिएका छन् ।

महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदाबी गरेका हुन् । सङ्घीय सरकारअन्तर्गतको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग महानगरपालिकाको सहकारी विभाग प्रमुख नमराज ढकालले सहकारी क्षेत्रका वर्तमान सवाल र समाधानका लागि सहकार्यका विषयमा कुरा गर्दै यस सम्बन्धी जानकारी दिनुभएको हो ।

महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा एक हजार ७४४ संस्था दर्ता भएका छन् । तर, वार्षिक प्रतिवेदन बुझाउनेको सङ्ख्या भने ८३८ मात्र छ ।

यसरी सम्पर्क बाहिर भएका सहकारीहरूको व्यवस्थापन, महानगरपालिकाले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्ने, कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र ऋण असुली न्यायाधीकरणलगायत विषयमा सङ्घीय सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागका बिचमा समन्वयका विषयमा कुरा गर्दै ढकालले महानगरपालिकाभित्र भएका सहकारीहरूको अवस्थाका विषयमा जानकारी गराउनुभयो ।

सङ्घीय सहकारी विभाग मातहतका १४७ वटा सहकारी संस्था छन् । यस्तै, बागमती प्रदेश कार्य क्षेत्र भएका सहकारीको सङ्ख्या ३ हजार २०७ छ । त्यस क्रममा रजिष्ट्रार घिमिरेले, ‘सङ्कटग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेर महानगरपालिकाले व्यवस्थापनको काम थालनी गर्न सुझाव दिनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै