रवी लामिछानेलाई मुद्दा र उजुरीमा एकसाथ ‘क्लिनचिट’
सबैले चासोका साथ हेरेको सर्वोच्च अदालतमा परेको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हुने गरि आदेश जारी भयो। बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा रहेको पेसीमा सर्वोच्चले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गर्यो।
युवराज पौडेल सफलले दायर गरेको रिटमा न्यायाधीश फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्यो। आउँदो वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराइसकेका लामिछानेलाई सर्वोच्चको यो आदेशले राहत भएको छ। उनले निर्वाचन अघि अब ‘क्लिनचिट’ पाएका छन्।
त्यस्तै, वुधबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि उनीविरुद्ध दर्ता भएका तीन उजुरीमा समेत दाबी नपुग्ने भन्दै खारेज गरिदिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उनीविरुद्धको चारमध्ये ३ वटालाई खारेज गरेको छ भने एउटा उजुरीलाई निर्वाचन आयोगमा पठाएको छ। चितवन–२ मा वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार भएका लामिछानेको उम्मेदवारी अवैधानिक भएको भन्दै उजुरी परेको थियो। उनीविरुद्धको उजुरी खारेज भएसँगै लामिछानेको उम्मेदवारी पनि कायम भएको छ।