सरकार स्वेच्छाचारी भयो- विपक्षी दलहरुको निष्कर्ष
सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले उक्त ठहर गरेको हो । बैठकमा संसद् छलेर अध्यादेशहरु ल्याएको भन्दै त्यसको विरोध गरेको छ । साथै बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ ।
यदि सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको तयारी भएको बैठक पछि माओवादी नेता वर्षमान पुनले जानकारी दिए । बैठकले प्रतिपक्षी दलहरूले केही दिनभित्र साझा धारणा बनाउन ड्राफ्ट कमिटी बनाएको छ ।
आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।
विपक्षी दलहरुको बैठक बिहीबार पुनस् बस्नेछ । बिहीबारको बैठकपछि संयुक्त वक्तव्य जारी गरी संसद अधिवेशन बोलाउन दबाब दिने तयारी प्रतिपक्ष दलको छ ।
विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन् ।