१० बैशाखको उपनिर्वाचन – तनहुुमा ९, चितवनमा २४ र बारामा ३६ जना को उम्मेदवारी – Nepalboli

१० बैशाखको उपनिर्वाचन – तनहुुमा ९, चितवनमा २४ र बारामा ३६ जना को उम्मेदवारी

   २० चैत्र २०७९, सोमबार  

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दिएका छन्। दलबाट १२ जनाले उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका छन्।

उपनिर्वाचनको लागि बारा क्षेत्र नम्बर २मा सबैभन्दा धेरै उम्मेदवारी परेको छ। निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेको थियो।

उक्त समयभित्र बारा २मा मात्रै ३६ जनाले उम्मेदवारी दिएका हुन्।

नेकपा एमालेका पुरूषोत्तम पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालालप्रसाद सा तेली, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अंसारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमार र हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदीले उम्मेदवारी दिएका छन्।

यस्तै जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, राप्रपा नेपालका मनिफ मिया अंसारी, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल र आम जनता पार्टीका अरूणकुमार ज्ञवालीले उम्मेदवारी दिएका हुन्।

अन्यले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उपनिर्वाचनको लागि तनहुँ क्षेत्र नम्बर १मा ९ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेको थियो। उक्त समयभित्र यहाँ ९ जनाले उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल, राप्रपाका शोभा गुरूङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टी पूर्णबहादुर राना र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले उम्मेदवारी दिएका छन्।

राप्रपाकी गुरूङ यस क्षेत्रमा एक मात्र महिला उम्मेदवार हुन्।

नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनार, नेपाल कम्युनिष्‍ट पार्टी समाजवादीका गणेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले र उम्मेदवारी दिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै