सरकारको सय दिन उपलब्धिमुलक रहेको सत्ता पक्षको दाबी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानुन निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको सोमबार सय दिन पुग्दैछ। प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पहिलो पटक मन्त्रिपरिषद् गठन गरेका थिए।
सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानुन निर्माणको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएकी हुन्। उनले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरू व्यवस्थित हुँदै गरेको बताइन्।
त्यस्तै, किसानको समस्या समाधान गर्न दूध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताइन्। उनले सरकारले समयमै पाठ्यपुस्तक पुर्याउने तयारी गरिरहेको पनि उनले बताइन्।
‘मुलतः कानुन निर्माणको क्षेत्रमा, सेवा प्रवाहको क्षेत्रमा सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, सय दिनको अवधिमा । सेवा प्रवाहको क्षेत्रमा हेर्दाखेरी भीडभाड हुने ठाउँहरूमा सरकारले क्यू सिस्टम हटाउने भनेको थियो। क्यू सिस्टम धेरै व्यवस्थित हुँदै गएको छ। र, यो छोटो समयमा त्यो पूर्ण रुपमा व्यवस्थित भएर जानेछ’ उनले भनिन्, ‘अर्को कुरा अर्थतन्त्रमा जुनखालको डामाडोलको स्थिति थियो, यसको बाह्य स्वरुप सुधार भएको छ। किसानका समस्यासँग सम्बन्धित भएर दूधको मूल्यदेखि लिएर गहुँको समर्थन मूल्य तोक्ने लगायतका विषयहरू भएका छन्।’
पाठ्यपुस्तक समयमै पुर्याउने गरी सरकारको तयारी रहेको भन्दै उनले मिटरब्याजसँग सम्बन्धित विषयलाई कानुनतः यसलाई अपराध घोषणा गर्दै कानुनी दायरामा ल्याउनका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्ने प्रक्रिया पनि अगाडि बढाएको उनले बताइन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको टिप्पणी गरे। उनले पछिल्लो समय प्रधानमन्त्रीले सरकार पुनर्गठन गरेसँगै सरकारले गति लिने अवस्था बनेको बताए।
‘यो गठबन्धनको अवस्था भनेको आफैंमा विशेष अवस्था हो। अहिले जुन हिसाबले नेपालको राजनीति बडो तरल छ। त्यो अवस्थाभित्र सय दिन बित्ने कुरालाई कुनै अनौठो मान्नु जरुरी छैन’, उनले भने, ‘तर, अब एकचोटी यो सरकार गठन गर्ने कुरा पुनर्गठन गर्ने काम भइसकेपछि अब यसले गति लिने अवस्था छ। र, अनुभव पनि प्राप्त गर्नुभएका व्यक्ति हुनुहुन्छ प्रधानमन्त्री। मुलुक चलाउने अनुभव प्राप्त गरेका पार्टीहरूपनि यसमा सहभागी छन्। सबैको सहयोगमा यो सरकार अगाडि बढ्छ।’
उनले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने पनि स्पष्ट पारे।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारको सय दिन राजनीतिक रुपमा अस्तव्यस्त रहेको टिप्पणी गरे। उनले सरकारले ‘डेलिभरीका कामहरू’ प्रारम्भ गरेको भन्दै आगामी दिनमा ती कामहरूले गति पाउनेमा विश्वास व्यक्त गरे। उनले सरकारलाई अब कुनै रोकतोक नहुने भन्दै सरकारले गति लिनुपर्ने धारणा राखे।
‘हाम्रो पार्टी भर्खरै मात्र सरकारमा सहभागी भएको दल हो। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएको सय दिन पुग्न आँट्यो। यसको बारेमा आधिकारिक धारणा प्रधानमन्त्रीज्यूले नै दिनुहुन्छ भन्ने लाग्छ मलाई। यो सय दिनका बारेमा नेपाली जनताहरू सबैले बुझेकै छन्। विभिन्न समयमा विभिन्न व्यक्तिहरू सरकारमा पुग्नुभएको अवस्था छ’, उनले भने, ‘त्यसैले यो सय दिन राजनीतिक रुपमा भन्ने हो भने अस्तव्यस्त ढंगले बितेको छ। र, सरकारले दिनुपर्ने डेलिभरीका कामहरूका बारेमा प्रारम्भ गर्नुभएको छ, प्रचण्डले यसपालि केही गर्छु भनेर भन्नु पनि भएको छ।’
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले भने सरकारले कुनैपनि काममा सकारात्मक पहलकदमी लिन नसकेको टिप्पणी गरे। उनले एमाले सरकारमा रहँदा अर्थतन्त्रमा आशा जागेको भन्दै गठबन्धन परिवर्तन भएसँगै सो आशा निराशामा परिणत भएको बताए। उनले देशको परिस्थिति गम्भीर रहेको उल्लेख गरे।
‘समस्या चाङ लागेका छन्। सम्बोधनका निम्ति कुनै पहलकदमी देखिएको छैन। यो खालको परिस्थिति हेर्दाखेरी जुनसुकै क्षेत्रलाई हेरे पनि उल्लेखनीय हिसाबले यति सकारात्मक पहलकदमी भयो नि भन्ने सकिने कुनै विषय, कुनै ठाउँ नै रहेन’, उनले भने, ‘बडो निराशाजनक छ। आम जनताको जस्तो खालको उत्साह हुनुपर्ने हो, त्यो खालको परिस्थिति देखिएन। निराशा बढ्दै गएको छ। हामी रहुञ्जेल देशको राष्ट्रिय अर्थतन्त्र जस्तो थियो, कमसेकम आशा जागेको थियो।’
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सय दिनमा सरकारले धेरै राम्रा निर्णय गरेको बताए। उनले सरकारले गरेका निर्णयहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले मिटरब्याजीहरूलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्नेमा जोड दिए।
‘मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। त्यसलाई सरकारले लामो नगरेर एक महिनाभित्र सबैलाई कारबाही गरेर जनतालाई आश्वस्त बनाउनुपर्छ। सय दिनमा सरकारले धेरै राम्रा निर्णयहरू गरेको छ’, उनले भने, ‘ती निर्णयहरू मात्रैले हुँदैन, कार्यान्वयन गर्नुपर्छ।’
जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रित भएको प्रतिक्रिया दिए। उनले सरकारमा चुनावअघिको गठबन्धन ब्युँतिएसँगै संविधानको रक्षा हुने विश्वास बनेको बताए।
‘सय दिनभित्रै सत्ता घटक फेरिएको छ। यो आफैंमा अचम्म लाग्दो अनौठो विषय हो। सरकारले यो बीचमा कुनै ठोस काम भन्दापनि गठबन्धन निर्माण गर्नमा बढी केन्द्रित भयो’, उनले भने, ‘त्यसैले अहिले नै यो सरकारलाई ठ्याक्कै यो यो काम गर्यो भनेर यो आधारमा धारणा निर्माण गर्न त कठिन हुन्छ। चुनावभन्दा अगाडिको गठबन्धन जुन थियो, त्यो गठबन्धन फेरि निर्माण भएको छ। यो सरकार संविधानप्रति प्रतिवद्धता, संविधानमा तलमाथि हुँदैन भन्ने एउटा विश्वास बनेको छ।’
उनले आर्थिक संकट र सुशासनको सवालमा मान्छेलाई चिन्ता लागेको बताए। यादवले सरकारले आगामी दिनमा जनताको भावना अनुरुप काम गर्न सक्नुपर्ने बताए।