प्रधानमन्त्रीद्धारा गठबन्धन बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका छन्। प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गर्दै सत्ता गठवन्धनमा सहमति भएपछि यसलाई सार्वजनिक गर्ने भएकाले सबै दलको धारणा माग गरेका छन्।
प्रधानमन्त्रीले सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा पेस गरेको र त्यसमा बुधबार फेरि छलफल हुने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।
यस्तै प्रधानमन्त्रीले उक्त कार्यक्रमसँगै मन्त्रिपरिषद् विस्तारलाई पनि आजै छलफलमा लैजान चाहेको बताएका थिए। तर आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे राम्रोसँग छलफल नै नभएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले पेस गरेको मस्यौदामा सरकारको प्राथमिकतालाई ९ वटा बुँदामा समेटिएको छ। संघीयता कार्यान्वयनदेखि जनतालाई राहत दिनेसम्मका कुराहरु त्यसमा समावेश छन्।