भारतीय राजदूतावासद्धारा ५८ औं आइटेक दिवस मनाईयो – Nepalboli

भारतीय राजदूतावासद्धारा ५८ औं आइटेक दिवस मनाईयो

   २०७९ चैत्र १२, आईतवार  

काठमाण्डौं स्थित भारतीय राजदूतावास शुक्रवार ५८ औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाईएको छ।

प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५ सयभन्दा बढी अतिथि उक्त कार्यक्रममा उपस्थित थिए।

समारोहमा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाल लगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरु माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे। भारतले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्ने बारे विचार भइरहेको पनि उनले बताए।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री दिनेश घिमिरे, सहायक रथी पूर्ण बहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव श्री रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अलम्नाइहरुले भारतमा रहँदाका दिनहरुको सम्झना गरे । सो अवसरमा भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।

भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरुमाझ पुर्याई त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ । सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँदै आएको छ ।

चण्डीगढस्थित पोष्ट ग्य्राजुएट इन्सटिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चमा इन्टरनेशनल हेल्थ म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम कोर्षका लागि नेपाल मेडिकल एसोसिएसनबाट ४५ जना चिकित्सक, जोधपुरस्थित नेशनल ल युनिभर्सिटीमा विशेष कोर्षका लागि महान्यायाधिवक्ताको कार्यालयबाट ३२ जना अधिकारी र इण्डिया इन्टरनेशनल इन्सटिच्युट अफ डेमोक्रेसी एण्ड इलेक्सन म्यानेजमेन्टमा निवार्चन आयोगबाट २९ जना अधिकारीसहित करिब २०० जना नेपाली सरकारी कर्मचारी, स्वास्थ्य तथा कानून व्यवसायी, निर्वाचन अधिकारी तथा रक्षा अधिकारीले सन् २०२२–२०२३ मा आइटेक कोर्षको तालिम लिए ।

घनिष्ठ एवम् नजिकको छिमेकी भएको नाताले विगत केही दशकदेखि भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहेको छ । गएको पन्ध्र वर्षमा मात्रै नेपालका २ हजारभन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ । भारतको प्रयासको एक हिस्साको रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नपुर्याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै