मन्त्रीपरिषद विस्तार वारेमा सतारुढ गठबन्धनका चार नेता विच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिने तयारी थालेका छन्। यसका लागि उनले औपचारिक/अनौपचारिक छलफल अघि बढाएका छन्।
जसअन्तर्गत बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका चार दलको बैठक बस्यो। बैठकमा सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लेखकले बैठकमा देशको समसायिक राजनीतिका विषय र सरकार विस्तारबारे छलफल भएको बताए।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरु सहभागी थिए। हाल प्रारम्भिक छलफल मात्रै भएको र बाँकी कुरा विस्तारै छलफल गरिने लेखकले बताए।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।