विश्वकप छनोटमा नेपाल
आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको छ। नेपालले ३६ खेल खेलेर ४० अंक बनाउँदै ‘टप थ्री’बाट विश्वकप छनोटमा आफ्नो स्थान बनाएको हो। लिग-२ बाट स्कटल्यान्ड र ओमानले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइसकेका छन्।
४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको नेपाल डीएलएस विधिका आधारमा यूएईसँग ९ रनले विजयी भएको हो। पानी पर्न थालेपछि रेफ्रीले उक्त विधिबाट नेपाललाई विजयी घोषणा गरेका हुन्। ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि चार ब्याटरले अर्धशतक पूरा गरेका थिए।
गुलशन झाले ४८ बलमा ५० रन बनाएर खेलिरहेका थिए भने दीपेन्द्रसिंह ऐरी ११ बलमा १० रन बनाएर नटआउट रहे। आरिफ शेखले ६२ बलमा ५२ रन बनाएर आउट भएका थिए। यसअघि भीम सार्कीले ७६ बलमा ९ चौकाको सहायताले ६७ रन बनाएर पेभेलियन फर्किएका थिए। यसैगरी कुशले भूर्तेलले ३२ रनमा ५० रन बनाएर महत्वपूर्ण योगदान गरेका थिए।
यूएईका लागि आसिफ खानले विष्फोटक पारी खेले। उनले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतले १०१ रन बनाए। उनकै बलिङमा पनि नेपालका आसिफ शेख स्टम्पिङ भएका हुन्। मल्ललाई भने जनैद सिद्दीकीले क्याचआउट गराएका हुन्।
यूएईका लागि वृत्य अरबिन्दले १३८ बलमा ९४ रन बनाए। यसैगरी कप्तान मुहम्मद वासिमले ४९ बलमा ६३ रन बनाएर सन्दीप लामिछानेबाट बोल्ड भए। यूएईका लागि रोहन मुस्तफाले २० रनको योगदान गरे।
नेपालका लागि ललितनारायण राजवंशीले पहिलो सफलता दिलाए। उनले आर्यन लाक्रालाई बोल्डआउट गरेका थिए।
निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका राजवंशीले आफ्नो लय बिहीबार पनि कायम राखे। उनले तेस्रो ओभरको पाँचौं बलमा ७ बद खेलेर ६ रन बनाएका लाक्रालाई बोल्ड गरेका हुन्।
१० ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिए। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए।