प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने– मन्त्रालयका विधेयकहरु छिटो अघि बढाउनू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयमा रहेका विधेयकहरु अगाडि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उनले जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई चालु अधिवेशनमै संसदमा लैजानुपर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।
सोमबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले सबै दलका प्रमुख सचेतक र प्रतिनिधिहरुलाई बोलाएर नागरिकता ऐन, संघीय निजामती सेवा ऐन, एकीकृत शिक्षा ऐनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउन चाहेको बताएका थिए । संविधान कार्र्यान्वयनसँग समेत जोडिएका विधेयकहरु अगाडि बढाउने सरकारको तयारी रहेको दलहरुलाई जानकारी गराएका प्रचण्डले मन्त्रीहरुलाई पनि विधेयकहरु छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।
संसदको चालु अधिवेशनबाटै नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, मिडिया काउन्सिल विधेयक, सम्पत्ति शुद्धिकरणसम्बन्त्री विधेयक, आपूर्तिसम्बन्धी विधेयकलाई अगाडि बढाउने सरकारको तयारी छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे प्रतिनिधिसभाको चालु अधिवेशन चैत दोस्रो वा तेस्रो सातासम्म चल्ने सम्भावना रहेको बताउँछन् । त्यस अवधिसम्म अत्यावश्यक विधेयकहरुलाई कानुनको रुप दिने सरकारको तयारी रहेको उनको भनाइ छ ।
माओवादी नेताहरु नागरिकता विधेयक प्रमुख प्राथमिकतामा रहेको बताउँछन् । तर, नागरिकता विधेयक कसरी अगाडि बढाउने भनेर सत्ता साझेदार दलहरुको बीचमै सहमति हुन बाँकी रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।