काठमाडौमा मनाइयो ७५ औं भारतीय सेना दिवस – Nepalboli

काठमाडौमा मनाइयो ७५ औं भारतीय सेना दिवस

   ५ माघ २०७९, बिहीबार  

भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौमा वुधवार एक कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौ स्थित भारतीय राजदूतावासले भारतीय सेना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा उपस्थिती थिए । कार्यक्रममा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारीहरु लगायतका नेपाल सरकारका अधिकारीहरु उपस्थिति थिए ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाईन्छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको वारेमा चर्चा गरेका थिए । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै राजदुतले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली सेनाका प्रमुख शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५ औं सेना दिवसको शुभकामना व्यक्त गरेका थिए । उनले भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त हुनुभएकोमा जनरल अनिल चौहानलाई पनि बधाई दिए । दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै