सभामुखमा कांग्रेस र एमाले भिडदै
विहिवार हुने सभामुख निर्वाचनका लागि सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दल दुवैले उम्मेदवारी दिएका छन्। संसद् सचिवालयका अनुसार सभामुख पदका लागि सत्तारुढ दलहरूमध्ये एमालेका तर्फबाट देवराज घिमिरे र नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेको तर्फबाट सभामुख उम्मेदवार बनेका घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ छन्। समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने छन्।
यसैगरी, कांग्रेसका सभामुख उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सर्मथकमा एकिकृत समाजवादीका प्रकाश ज्वाला छन्।
एमाले र कांग्रेस दुवै अन्य दलहरूको आडमा सभामुखमा प्रतिष्पर्धा गरिरहेकका हुन्। पुस १० मा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा नै पदीय भागबन्डा भइसकेको छ। जसअनुसार एमालेले सभामुख र राष्ट्रपति, रास्वपाले उपसभामुख र माओवादी केन्द्रले उपराष्ट्रपति पाउनेछन्।
प्रतिनिधि सभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै गर्दा नेपाली काग्रेससँग पनि विश्वासको मत माग्न पुगे। प्रचण्डलाई कांग्रेसले विश्वासको मत पनि दिएको छ। त्यसले राजनीतिक वृत्तमा तरङ्ग ल्यायो। एमालेले त्यसप्रति सशंकित हुँदै सभामुख र राष्ट्रपतिको बारेमा भइसकेको सहमतिमा कांग्रेसले खेल्न खोजेको आरोप लगायो। कतिपय कांग्रेसकै नेताहरूले समेत सभामुख र राष्ट्रपति निर्वाचनमा आफनो स्पेश बनाउनकै लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दाबी गरे।
सभामुख पदको उम्मेदवारी दर्तापछि एमालेका नेता देवराज घिमिरेले आफ्नो जित सुनिश्चत रहेको दाबी गरे। घिमिरेले सत्तारुढ दलको प्रष्ट बहुमत रहेको बताउँदै सभामुखको निर्वाचनमा सहज जित हुने दाबी गरे।
यता, कांग्रेसका सभामुख उम्मदेवार न्यौपानेले पनि आफू जित नजिक रहेको दाबी गरेकी छिन्। न्यौपानेको उम्मेदवारी दर्ताअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रान्जिता श्रेष्ठसँग छलफल गरेका थिए।