स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ५ मा

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गतेका लागि तय भएको छ। बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि मिति तय गरेको हो।
निर्देशनालयका निर्देशक पशुपति अधिकारीले भने,‘विद्यार्थी कल्याण परिषद्को बैठक बसेर, विद्यार्थी संगठनहरुको राय, सल्लाह र त्रिभुवन विश्वविद्यालय परीक्षा र भर्ना तालिकालाई आधार मानेर चैत ५ गतेका लागि मिति तय गरेका हौं।’
विद्यार्थी संगठनहरुले पनि फागुन १४ गते देखि चैत १४ गतेभित्र स्ववियु निर्वाचन गर्न सुझाव दिएका थिए।
‘फागुन २८ गतेदेखि ३र४ दिन लगातार विदा रहेछ। मिति नमिल्ने देखियो। विद्यार्थी संगठनको सुझाव पनि विदा पछाडि नै गर्नु पर्ने पाइयो। त्यसैले हामीले चैत ५ गतेलाई मिति तय गर्यौं र त्रिवि कार्यकारी परिषद्मा पठायौं’, उनले भने।
त्रिवि कार्यकारी परिषद्ले निर्देशनालयको निर्णय अनुमोदन गरेपछि स्ववियु निर्वाचनको प्रक्रिया अघि बढ्नेछ।