कांग्रेस संसदीय दलमा सभापति देउवा भर्सेस महामन्त्री थापा

बुधबार हुने नेपाली काग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा भिड्ने भएका छन्। संस्थापन पक्षबाट देउवा दलको नेतामा उम्मेदवार बनेका छन् भने ईतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार बनेका छन्।
देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थक उपसभापति पूर्णबहादुर खड्का छन्। यता, महामन्त्री थापाको प्रस्तावक नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुड, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्।
मंगलबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेर देउवा र थापा दुवैले आ– आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। संस्थापन पक्षमा देउवा सुरुदेखि नै सर्वसम्मत देखिएपनि इतर पक्षमा महामन्त्री थापासँगै नेता कोइराला पनि दलको नेताका आकांक्षी थिए। तर, अन्तिममा कोइराला थापालाई समर्थन गर्ने सहमतिमा पुगेका हुन्।
सोमबार राति अबेरसम्म र मंगलबार बिहान पुनस् बसेको यो पक्षको बैठकले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। अब कांग्रेसको संसदीय दलको निर्वाचन सभापति देउवा भर्सेस महामन्त्री थापा पुगेको छ।
४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्दै गर्दा भावी संसदीय दलको नेताका रुपमा आफूलाई घोषणा गरेका थिए।
सभापति देउवाको प्रस्तावक बसेका नेता पौडेलले अहिलेको अवस्थामा कांग्रेस संसदीय दलको नेतामा देउवाकै खाँचो रहेको दाबी गरेका छन्। केही दिन अगाडिसम्म पौडल आफूलाई नै अबको प्रधानमन्त्री बनाउनुपर्ने भन्दै देउवासहित अन्य पार्टीका शीर्ष नेताहरूसँग छलफलमा थिए। तर, अन्तिममा आएर उनी देउवाको प्रस्तावक बनेका छन्।
महामन्त्री गगन थापाको पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा उभिएका छन्। शर्माले देशका आमनागरिकले कांग्रेसभित्र खोजेको परिर्वतनको नेतृत्व अब सभापतिसहित पुराना पुस्ताका नेताहरूले गर्न नसक्ने भन्दै पार्टीलाई नयाँ रुपान्तरणका लागि आफू थापाको पक्षमा उभिएको बताएका छन्।
उनले पार्टीमा व्यापक रुपान्तरणनको खाँचो रहेको भन्दै महामन्त्री थापा दलको नेता निर्वाचित भए पार्टी र सम्रग देशको राजनीतिमा नवीन सन्देश जाने दाबी गरे।