पर्सामा सहरभन्दा ग्रामीण भेगमा कम मत बदर – Nepalboli

पर्सामा सहरभन्दा ग्रामीण भेगमा कम मत बदर

   १८ मंसिर २०७९, आईतवार  

पर्सा – मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न यहाँ सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजक देखिएका छन् । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मत सङ्ख्या र त्यसमा भेटिएको बदर मतको सङ्ख्याले सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग रहेको पुष्टि गरेको छ ।

चार निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ६६ प्रतिशत मतदान हुँदा पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं २ मा ६७ प्रतिशत मतदान हुँदा पाँच दशमलव दुई प्रतिशत मत बदर भएको छ । त्यसै क्षेत्र नं ३ मा ७१ प्रतिशत मतदान हुँदा चार दशमलव १२ प्रतिशत र क्षेत्र नं ४ मा ६९ प्रतिशत मतदान हुँदा तीन दशमलव ३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकामसमेत रहेको वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने क्षेत्र नं १ मा खसेको ५१ हजार दुई सय ११ मतमध्ये दुई हजार पाँच सय ९१ र क्षेत्र नं २ मा खसेको ५८ हजार पाँच सय ४७ मतमध्ये तीन हजार ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । उनले जिल्लाको ग्रामीण भेगमा पर्ने क्षेत्र नं ३ मा खसेको ६४ हजार तीन सय २४ मध्ये दुई हजार छ सय ५१ मत र क्षेत्र नं ४ मा खसेको ६२ हजार दुई सय १९ मध्ये दुई हजार एक सय तीन मत बदर भएको बताए ।

विसं २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १० दशमलव शुन्य नौ प्रतिशत मत बदर भएको तुलनामा यसपालिको निर्वाचनमा जिल्लाबाट कूल चार दशमलव चार प्रतिशत मात्र मत बदर भएको छ ।

मतदाता शिक्षालाई यसपालि निर्वाचन आयोगले प्राथमिकता दिएका कारण जिल्लामा बदर मतको सङ्ख्या कम देखिएको भए पनि सहरी क्षेत्रमा देखिएको बढ्दो बदर मतको सङ्ख्यालाई नियन्त्रण गर्न आयोगले विशेष रणनीति बनाउन आवश्यक देखिएको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै