नागरिकता विधेयक विधायन समितिबाट हुबहु पास, एमालेको फरक मत
राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो ।
विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।
एमालेको फरक मत
समितिमा रहेका एमाले सांसदहरु देवेन्द्र दाहाल, भैरवसुन्दर श्रेष्ठ र भगवती न्यौपानेले भने फरक मत राखेका छन् । एमालेले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिंदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने एमालेको फरक मत छ ।
विवाहपछि भने राजनीतिक र प्रशासनिक बाहेकका अधिकार उपभोग गर्न परिचयपत्र दिने र त्यो परिचयपत्र नागरिकता प्राप्तिको आधार हुने पनि एमाले सांसदहरुको फरक मतमा उल्लेख छ ।
एमालेले प्रादेशिक पहिचानसहितको नागरिकता दिने, आमाको नामबाट नागरिकता लिंदा गर्नुपर्ने स्वघोषणालाई बाध्य बनाउन नहुने पनि फरक मतमा राखेको छ ।