संघ र प्रदेशको आगामी चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान – Nepalboli

संघ र प्रदेशको आगामी चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

   २९ श्रावण २०७९, आईतवार  

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन् ।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

काठमाडौंमा अत्यधिक मत बदर

गत स्थानीय तहको निर्वाचनमा काठमाडौ पोखरा जस्ता ठाँउमा पनि अत्यधिक मत बदर भएको बताएका छन् । सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्तले शिक्षित मतदाता रहेका ठाँउमा पनि धेरै मत बदर भएको बताए ।

उनले आयोगले गत चुनावमा डिजिटल माध्यमबाट मतदाता शिक्षालाई जोड दिएको बताउदै साक्षरता दर धेरै भएको ठाउँ पनि मत बदर भएकोमा छक्क परेको बताए ।

उनले भने, काठमाडौंमा सचेतना नभएर मत बदर भएको हो वा विद्रोही गरेर मत बदर भएको हो ? हामी छक्क परेका छौं । काठमाडौ जस्तो ठाँउमा पोखरामा अत्यधिक मत बदर भएको छ । डिजिटल माध्यमबाट मतदाता शिक्षा पद्धतिलाई फेर्नुपर्ने हो कि भन्ने लागेको छ ।

आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ । प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम् प्रशारण विद्युतीय माध्यमको प्रयोगमा विशेष जोड दिने बताए ।

यस्तै सामाजिक सञ्जालको प्रयोग गर्ने, विशिष्ट व्यक्तिहरूमार्फत मतदानमा सहभागी हुन आह्वान सहितको सामग्री प्रसारण गर्ने उनको भनाइ छ । मतदाता सूचना कक्ष र कल सेन्टर मार्फत सूचना प्रवाह गर्ने प्रमुख आयुक्त थपलियाले बताए । उनले राष्ट्रिय भाषामा मतदाता शिक्षा सामग्री उत्पादन र वितरण गर्ने जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै