चीन र नेपाली विचको विश्वास झनै वलियो बन्यो- परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डा नारायण खड्काले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताएका छन् । चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केका उनले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास बताएका हुन् ।
‘मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु’ उनले स्वदेश फर्केपछि जारी गरेको प्रेसनोटमा भनेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन रहेको बताएका परराष्ट्रमन्त्री खड्काले बताए ।
परराष्ट्रमन्त्री खड्काले चीनसँग प्रतिनिधिमण्डलस्तरको वार्तामा द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताएका छन् ।
साउन २४ गते चीन भ्रमणमा गएका खड्का दुई दिनपछि बिहीबार स्वदेश फर्किएका हुन् ।