जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक- उपसभापति खड्का – Nepalboli

जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक- उपसभापति खड्का

   २०८१ जेष्ठ ३१, बिहीबार  

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको धारणासमेत राख्नुभयो उहाँको सचिवालयले जनाएको छ ।

“पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबिच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ”, उहाँले भन्नुभयो । उहाँले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई सुध्रिन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले मुलुकमा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्दै उक्त परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो ।

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्ताबेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । “उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्ताबेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ”, उपसभापति खड्काले भन्नुभयो, “त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।”

उपसभापति खड्काले कांग्रेस मिसन-२०८४ तर्फ केन्द्रित नरहेको समेत उल्लेख गर्नुभयो । उहाँले कांग्रेस अहिले मिसन-२०८१ मै रहेको बताउनुभयो । “देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन हो, त्यहीँ भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्‍याउने भन्नेमा हामी छौँ”, उहाँले भन्नुभयो, “यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।”

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै