नेपालबाट विद्युत आयात गर्ने बंगलादेशको निर्णय
बंगलादेशले नेपालबाट विद्यत आयात गर्ने औपचारिक निर्णय गरेको छ । उसले पहिलो चरणमा ४० मेगावाट विद्युत् किन्ने भएको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हुसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने निर्णय समेत बंगलादेश सरकारको छ ।
नेपालले लामो समयदेखि बंगलादेशमा विद्युत् निर्यातको पहल गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पनि यसबारे सहमति भएको थियो ।
भारतले नेपालको विद्युत बंगलादेश निर्यात गर्न बाटो उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।