मंगलवार राती काठमाडौमा भएको भारी वर्षाका कारण ठाउ-ठाउमा डुुबान

काँडाघारीको प्रहरी प्रभाग डुबानमा
अविरल वर्षाको कारण काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा परेको छ । प्रभाग काँडाघारीको एक तलाको पूरै भाग डुबाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । प्रहरीको मेशको खाद्यान्न, भाँडावर्तन र फर्निचर बगाएको छ । कार्यालयसँगै राखिएको ३ वटा मोटरसाइकल पनि बगाएको छ ।
अविरल वर्षाको कारण मनोहरा खोला किनारका बस्तीमा धेरै क्षति गरेको छ । बाढीका कारण अलपत्र परेका मानिसहरु र चौपायालाई सुरक्षाकर्मीको सहयोगमा उद्दार गरिएको काँडाघारीका स्थानीयहरुले बताएका छन ।
काँडाघारी प्रभागको बेस सेट भिजेर काम नगर्ने भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले खहरे भन्दा माथी राडारबाट बाढीले अलपत्र परेका दुईजनाको उद्दार गरेको छ । गोठाटारबाट ७ वटा गाडीलाई डुबानबाट बाहिर निकालिएको छ ।
काँडाघारी स्थित हरहर महादेव नजिकै ७ जना मानिसहरु अलपत्र परेका छन् । अलपत्र परेकाहरुको उद्दार भइरहेको एसपी मैनालीले जानकारी दिए । डुबान स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका उद्धारकर्मी खटिएका छन् ।
कागेश्वरी मनोहरा–७ विष्ट गाउँमा एक तलाका अधिकांश घरहरु डुबानमा परेका छन् । त्यहाँ उद्धारकर्मी परिचालन गरिएको छ ।
मध्यरातमा बागमती किनारामा ३ जनाको उद्धार
भारी बर्षका कारण मंगलवार राती बागमती किनारामा रहेको टहराबाट नेपाल प्रहरीले ३ जनाको उद्धार गरिएको छ । बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो ।
गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो ।
जसको प्रभावले आज विहान पनि पुण्यमती, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ ।
अधिकांश खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा
मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।
काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ ।