जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी – Nepalboli

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी

   २०८१ जेष्ठ ३०, बुधबार  

जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ । जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ ।

यस्तै सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा रामकुमार शर्मा, मनिष सुमन, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन् । रामकुमार शर्मा हालै माओवादीबाट जसपा नेपालमा प्रवेश गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालका एक नेताले हालसम्म अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जानकारी दिँदै समय अझैँ बाँकी रहेपनि सो पदमा अरूको दाबी नदेखिएको बताए ।

जसपा नेपालको विधानअनुसार २०१ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय पदाधिकारी २० जना हुनेछन् भने त्यसमा खुला १६ जना र चार जना महिला अनिवार्य हुने व्यवस्था रहेको छ ।यस्तै केन्द्रीय सदस्य १८१ जनामध्ये खुला १२१ जना छन् भने ६० जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय पदाधिकारीमा एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । महासचिव दुई जना छन् भने उपमहासचिव तीन जना र त्यसमध्ये एक जना महिला अनिवार्य गरिएको छ । सचिव सात जना हुनेमा दुई जना महिला अनिवार्य हुने व्यवस्था रहेको छ । यस्तै कोषाध्यक्ष एक जना रहने विधानमा व्यवस्था छ ।

बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भइसकेको छ । उम्मेदवारको नामावली १० बजे प्रकाशन गर्ने निर्वाचन तालिका छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ । अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ ।

अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिन निश्चित छ । अन्य पदमा सर्वसम्मती नजुटे निर्वाचन हुने सम्भवना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै